Radio Audio Program

Find us on Facebook

Updates

कुकुरको दूध खाएर हुर्किंदै डमरु

असार ५, काठमाडौं ।दिनहुँ जसो बमबारी, आत्मघाती विस्फोट, नाकाबन्दीको समाचार आउने गरेको प्यालेस्टाइनको गाजापट्टीमा एउटा अचम्म भएको छ । त्यहाँकी एउटी कुकुर्नीले आफ्नो दूध खुवाएर डमरु(बाघको बच्चा) हुर्काइरहेको छ ।

चिडियाखानामा पालिएकी एउटी बघिनीले एकैपटक तीन बच्चालाई जन्म दिई । तर, डमरुहरूलाई  उसले कुनै चासो देखाइन । आमाको दूध र माया नपाएपछि दुई डमरुको तत्काल मृत्यु भयो । बचेको तेस्रो डमरुलाई एउटी कुकुर्नीले जीवनदान दिई । अहिले त्यो डमरु कुकुर्नीको दूध खाएर हुर्किरहेको छ ।

बघिनीले बचेको एउटा डमरुलाई पनि दूध खुवाउन र छेउ पर्न नदिन थालेपछि चिडियाखानाका अधिकारीले डमरुलाई दूध खुवाउन भनेर एउटी सुत्केरी कुकुर्नी भएठाउँमा लगेका थिए  । 

हिंस्रक जनावरको बच्चालाई कुकुर्नीले छेउ पर्न नदिने आशंका गरेका पनि  कुकुर्नीले प्रेमपूर्वक डमरुलाई आफ्नो दूध चुस्न दिएको देख्दा सबै चकित परेका थिए । दूध खान  पाएपछि  डमरु हृष्टपुष्ट हुँदै गएको छ ।

चिडियाखानाका अधिकारीका अनुसार मानसिक अवस्था बिग्रिएका कारण बघिनीले डमरुलाई छेउ पर्न नदिएको हुन सक्छ भन्ने अनुमान गरिएको छ । ‘त्यसपछि हामीले पशु डाक्टरसँग परामर्श लियौँ, बचेको एउटा डमरुलाई कसरी बचाउने भनेर । 

डाक्टरले कुकुर र बाघको दूध मिल्दोजुल्दो हुन्छ भने । त्यसपछि हामीले एउटा सुत्केरी कुकुर्नी भएठाउँमा डमरुलाई लग्यौँ । कुकुर्नीको दूध खान पाएर डमरु रातोपिरो हुँदै गएको छ,’ चडियाखानाका व्यवस्थापक इब्राहिम स्बिटाले भने ।नयाँ पत्रिका 

Post Comment

Radio Audio Live