Program Archive

Find us on Facebook

Updates

एमाले र एमाओवादीका नेताहरुबीच 'ब्रेकफास्ट' वार्ता - कान्तिपुर दैनिक

झण्डै डेढ महिना अघि देखि एक अर्काबीच  आशंका र सार्वजनिक मञ्चबाट समेत तिक्त अभिव्यक्ति दिदै आएका एमाले र एमाओवादीका नेताहरु शुक्रबार 'ब्रेकफास्ट' वार्ता गरेका छन् ।

एक अर्कालाई व्यक्तिगत टिप्पणी समेत गर्दै आएका एमाले अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको बैठकमा हाँसीखुसी आफ्ना कुरा खुलस्त पारे । एमाओवादी नेताहरु ओली निवास भक्तपुर बाल्कोटमा पुगे । दुई दलको बैठक एमाले अध्यक्ष ओलीको स्वास्थबारे चासो राख्दै सुरु भएको थियो । त्यसपछि संविधानका अन्तरवस्तुबारे छलफल सुरु भएको थियो ।

'छिट्टै संविधान जारी गर्नुपर्छ' दुबै ओली र एमाओवादी अध्यक्ष दाहालको एउटै भनाइ थियो । तर संघीयताका बिषयमा प्रवेश गरेपछि उनीहरु निकट हुन सकेनन् । एक अर्काको चर्को आरोप नगर्ने समझदारीमा भने दुबै दल पुगे । 'चाँडो संविधान जारी गर्ने कुरा भयो' बैठक स्थल ओली निवासबाट बाहिरिदै गर्दा एमाओवादी महासचिब कृष्णबहादुर महराले भने, 'फेरि पनि छलफल हुनेछ ।'

केही दिन अघि बालुवाटारको बैठकमा नगाएकोमा ओलीको नियतमाथि एमाओवादी नेताहरुले शंका गरेका थिए ।  तर साँच्चै ओली अस्वस्थ भएको  यकिन भएपछि शुक्रबार एमाओवादी नेताहरु ओली निवासमै  छलफल गर्न बिहान नौ बजे वालकोट पुगेका थिए ।

ओली निवास 'ब्रेकफास्ट' सहितका बैठकमा झण्डै तीन घण्टा चल्यो । बैठकले ठोस निष्कर्ष त केही निकालेन  तर दुई दलबीचको दुरी भने घटाएको छ  ।  एमाओवादीबाट दाहाल नेताहरु बाबुराम भट्टराई, नारायणकाजी  श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी र एमालेबाट बामदेव गौतम, विद्या भण्डारी, ईश्वर पोखरेल, अग्नी खरेल सहभागी  बैठकमा  मुख्य रुपमा संघीयताकै बिषयमाथि बहस केन्दि्रत भयो । बैठकमा एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरु सहभागी थिएनन् ।

 बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय प्रदेश बिषयमा कुरा नमिलेको जानकारी दिए । उनले एमालेले पूर्बका पाँच जिल्ला झापा, मोरङ र सुनसरी र सुदूरपश्चिमका कैलाली र कंचनपुर उत्तरतिरका मिलाउनु पर्ने बटमलाइन राखेको बताए ।

 'त्यसपछि कुरा मिलेन, यी पाँच जिल्लालाई संघीय आयोग बनाउने टुङ्ग्याउन सकिने हामीले प्रस्ताव राख्यौ' उनले भने, 'एमाले नेताहरुले त्यस्तो गर्न नसकिने बताउनु भयो ।'

Post Comment