०६५ सालतिरको त्यो समयमा उनी ‘रेडियो अडियो’ एफएममा मार्केटिङको जागिर पनि खान्थे ।
7 March, 2017
काठमाडौंको असन बजारक्षेत्र । झमझम झरी परेको रात । पैसाको बोरा बोकेर केही व्यक्ति गल्लीमा यता र उता कुदिरहेका छन् । त्यो दौडधुपमा पैसाको भरिया बन्ने ‘भाग्यमानी’हरुमध्ये कलाकार विपिन कार्की पनि देखिन्छन् ।
‘जात्रा’ फिल्मको एक दृश्य हो यो । फिल्म कात्तिक २६ गतेदेखि दर्शकमाझ जाँदै छ ।
नयाँ फिल्मबाट दर्शकको कस्तो प्रतिक्रिया आउला भनेर पर्खिरहेका विपिनलाई जीवन पनि जात्रा जस्तो लाग्छ, दौडधुप र उछिनपाछिनमै सकिने ।
यसअघिको ‘छड्के’ फिल्ममा बिन्दु माझीको भूमिकाबाट अब्बल छाप छोडेका विपिन ‘पशुपतिप्रसाद’ को भष्मे चरित्रबाट अझ लोकप्रिय बने । अब ‘जात्रा’ बाट त्यो लोकप्रियता अझ बढाउने सुरमा छन् उनी ।
‘पशुपतिप्रसाद’मा उनको काम दर्शकले कति रुचाए भने, वास्तविक नामभन्दा पनि उनी ‘भष्मे’बाटै चिनिन्छन् । हुन पनि ट्रेन्ड हेर्दा पनि पर्दामा कुनै भूमिका अत्यधिक चल्यो भने दर्शकले कलाकारलाई त्यसको ट्याग लगाइहाल्छन् । त्यसपछि अर्को जतिसुकै गतिलो काम देखाए पनि पुरानो ट्याग हत्तपत्त मेटिँदैन ।
विपिन पनि भन्छन्, ‘अब त्योभन्दा राम्रो काम गर्यो भने मात्रै भष्मे ओभरल्याप हुने हो ।’ ‘जात्रा’मा उनी स्टेशनरी व्यापारीका रुपमा देखिनेछन्, फणिन्द्र उर्फ फडुको भूमिकामा । फडुले भष्मेलाई उछिन्ने उनको अपेक्षा छ ।
फिल्ममा पैसाको पछि मरिहत्ते गर्ने पात्र भए पनि वास्तविक जीवनमा भने विपिन कहिल्यै पैसाको पछि कुदेनन् । कलाकार भएर सोच्दा पैसा सबथोक होइन भन्ने लाग्छ उनलाई । तर, समाजमा आदर्श र व्यवहार ठीक विपरीत देखेका छन् उनले
सुटिङको बेला त्यो दर्के झरीको राति सात बजेदेखि भोलिपल्ट बिहान सात बजेसम्म भिजेको लुगामै खटिएको क्षण झलझली छ आँखामा । पैसाकै सेरोफेरोमा रहेको फिल्ममा त्यो रातभरि पानीमा भिज्दै पैसाको बोरा बोकेर दगुर्दा उनी एकदिन त बिरामी नै परेछन् ।
‘त्यतिबेला चाँडै टेक ओके भएर सुटिङ सकिए हुन्थ्यो जस्तो लागेको थियो, अहिले सम्झिँदा भने रमाइलो लाग्छ’, उनले भने ।
पैसाले टोकिएका मान्छेहरु
फिल्ममा पैसाको पछि मरिहत्ते गर्ने पात्र भए पनि वास्तविक जीवनमा भने विपिन कहिल्यै पैसाको पछि कुदेनन् । कलाकार भएर सोच्दा पैसा सबथोक होइन भन्ने लाग्छ उनलाई । तर, समाजमा आदर्श र व्यवहार ठीक विपरीत देखेका छन् उनले ।
‘पैसा केही होइन भन्दै हामीले आदर्शका कुरा गरे पनि त्यो कुरा एउटा निश्चित समयसम्म मात्र हुँदो रै’छ’, उनी भन्छन्, ‘सामान्यतया हामी सप्पै जना पैसाको पछाडि नै दौडिन्छौं ।’
यसको अर्थ समाजमा बसेपछि कलाकार पनि सामाजिक प्राणी बन्दै पैसाको ‘चरम सुख’तर्फ मोहित हुन्छ ।
पैसा महत्वपूर्ण कुरा भए पनि विपिन सधैं ठूलोभन्दा पनि राम्रो फिल्म रोज्छन् । ‘राम्रो फिल्म बन्दै छ भने त्यसको एक हिस्सा होऊँ जस्तो लाग्छ । सानै भए पनि आफ्नो संलग्नता र योगदान होस् भन्ने लाग्छ’, उनले मन तृप्त हुने पाटो सुनाए ।
फिल्म खेल्ने क्रममा आफू निकै ‘चुजी’ हुँदा उनले त्यसका असर पनि खेपे । सुरुवाती समयमा राम्रो फिल्म र आफ्नो भूमिका हेरेर खेल्दा फाट्टफुट्ट फिल्म मात्रै हात पर्ने भएकोले आर्थिक रुपमा गाह्रो हुन्थ्यो । ‘जीविका चलाउने माध्यम पैसै भएकोले गोटागोटी फिल्मबाट आउने पैसाले कति दिनसम्म टिक्ने भन्ने हुन्थ्यो’, उनले भने, ‘पहिले धेरै ग्याप गर्दै खेले पनि अहिले त रेगुलर नै गरिरहेको छु ।’
अहिले लगालग फिल्महरु गर्ने क्रममा पनि कथावस्तु चित्त नबुझेसम्म उनी साइन गर्दैनन् । यतिसम्मको फिल्म गर्दा ठीकै हुन्छ र आफूले मिहिनेत गर्दा क्यारेक्टर स्थापित हुन सक्छ भन्ने लागेपछि मात्रै अघि बढ्ने गरेको उनले सुनाए । आफ्नो कामबारे यस्तो धारिलो दृष्टि लगाउन उनलाई विगतको रंगमञ्च यात्राले सिकाएको हो ।
काठमाडौं आगमन र थिएटर जिन्दगी
पढ्ने सिलसिलामा विपिन ०५६ सालतिर मोरङको कसेनीबाट काठमाडौं आएका हुन् । आएर भृकुटीमण्डपको आरआर क्याम्पसमा भर्ना भए ।
त्यतिबेला उनीभित्र नाटक खेल्ने कुनै चस्का थिएन । तर, नाटक हेर्न औधि रुचाउँथे । पुरानो वानेश्वरमा रहेको गुरुकुल नाटकघर गइरहन्थे ।
आफ्नै गाउँका दाइ कमलमणि नेपाल गुरुकुलकै कलाकार थिए । नियमितजसो जान थालेपछि चिनजान थप बाक्लिँदै गयो । नयाँ नाटक लाग्नासाथै उनलाई फोन आउने गर्न थाल्यो ।
पहिला नाटक हेर्न पैसा तिर्थे, पछि गुरुकुलका गुरु सुनील पोखरेलसम्मले चिनेपछि उनले सधैं सित्तैमा नाटक हेर्न पाउने भए ।
उनले ती दिन सम्झिँदै खुसी पोखे, ‘त्यहाँ रेगुलर जान थालेपछि अडियन्स हुँदा पनि मलाई सुनील सरले नामबाटै बोलाउनुहुन्थ्यो ।’ बिस्तारै नाटकप्रति मोह बढ्दै थियो उनीभित्र ।
०६३ सालबाट उनी गुरुकुलमा जोडिए । त्यसपछिको समयमा उनले भोलिन्टियर भएर त्यहाँ काम सघाउन थाले । गेटमा बसेर टिकट चेक गर्ने, हलमा दर्शक मिलाइदिने, कलाकारहरुलाई चिया–खाजाको व्यवस्था मिलाइदिने लगायत काम गर्न थाले ।
हुँदाहुँदै उनले मञ्च निर्माणको प्राविधिक काम सम्हाल्ने भए । ‘गुरुकुलमै बस्नेहरुले पनि एक्टिङ मात्र गर्छु भन्नै पाउँदैनथे, अर्को केही काम पनि सम्हाल्नुपथ्र्यो’, उनले नियम सम्झिए ।
भोलिन्टियर गर्न थालेपछि उनले नाटक हेर्दै जाँदा कुरा पनि बुझ्दै गए । नाटकमा सानोतिनो रोलमा काम गर्ने अवसर पाउन थाले । सुरुवात भने सडक नाटकबाट भयो । संविधानसभाको पहिलो निर्वाचनको बेला गुरुकुलले सडक नाटक गर्दा कलाकार पुगेन, त्यसको फाइदा ‘एक्टिभ अडियन्स’ भएकोले उनको पोल्टामा पर्यो ।
भोलिन्टियर गर्ने क्रममा नाटकप्रति उनको समर्पण देखेपछि सुनीलले एकदिन उनलाई प्रस्ताव गरे, ‘गुरुकुलमा बस्छौ बिपिन ?’
उनले खोजेकै त्यही थियो । तुरुन्तै टाउको हल्लाए ।
गुरुकुलको पहिलो ब्याचबाट राजन खतिवडा, कमलमणि नेपाल, सौगात मल्ल, सरिता गिरी, अरुणा कार्कीहरु उत्पादन भए । उनी चाहिँ दोस्रो तथा लास्ट ब्याचको पनि अन्तिमतिर सरस्वती चौधरी, पशुपति राई, प्रविण खतिवडा, रामहरि ढकाल लगायतसँग मिसिए ।
०६५ सालतिरको त्यो समयमा उनी ‘रेडियो अडियो’ एफएममा मार्केटिङको जागिर पनि खान्थे । ‘एक्टिङमा लागिरहँदा जीविका पनि त चलाउनुपर्यो भन्ने हिसाबले त्यो जागिर खाएको थिएँ,’ उनले भने, ‘फेरि केही नगरी बस्यो भनेर घरबाट पनि करकर आइरहेको थियो ।’ बेकारी भएर बसिस्, विदेश जा भन्ने ताकेता आइरहँदा मुख बन्द गर्न उनी जागिरमा अल्झिएका रहेछन् ।
रेडियोमा ६\७ महिना काम गरेपछि उनी गुरुकुलकै संसारमा केन्द्रित भए ।
कलाकारिताको बाटोमा धेरैले निकै घामपानी सहेको अनुभव सुनाउँछन् । बिपिनसँग यस्ता किस्सा छैनन् । उनी भन्छन्, ‘बाउबाजेको कथा जस्तो भोकै पेट सुतेँ, पाउरोटी खाएर कति रात कटाएँ भन्ने खालको संघर्ष चाहिँ मैले गर्नु परेन ।’
सुरुवाती चरणमा सानोतिनो रोल गर्दा चित्त नबुझेपछि उनी व्यग्र भइरहन्थे, अलि ठूलो रोल पाइदे पनि हुन्थ्यो नि !
सुनील सरले कतै मेन रोलमै लेलान् कि भनेर उनी फकाउने र प्रभावित पार्ने उपाय बुन्न थाले ।
‘सरले स्क्रिप्ट पढ्न दिँदा त्यसमा भएमध्ये अलि ठूलो र आफूलाई मन पर्ने क्यारेक्टरको डाइलग याद गरेर सुनाउने गर्थेँ,’ आफ्नो चलाखी सुनाए, ‘अरुको डाइलग पनि मजाले भन्दियो भने कतै त्यो रोल मलाई दिइहाल्छन् कि भन्ने लाग्थ्यो ।’
पहिले ठूलो रोल र मजाले बोल्ने भूमिका खोज्ने बिपिन पछिल्लो समय भने त्यसप्रति विरक्त रहेछन् । मजाक गर्दै भने, ‘अब त धेर बोल्दा–बोल्दा थाक्ने जस्तो भइसक्यो ।’
नाटकमा बिपिनलाई सिकाएर पारंगत बनाउने सुनीलले सुरुवाती चरणनमा उनलाई अभियमा पत्याएकै थिएनन् । उनलाई सुरुमा गुरुकुलको अडियो–भिडियो शाखाको काम गर्न अह्राउँदा उनले त्यता नजाने, एक्टिङ मात्र गर्ने अड्डी कसेका थिए ।
यसको बदलामा उनले सुनीलबाट सुनेको शब्द थियो, ‘अहँ, काम छैन । तैंले एक्टिङ गरेर खाँदैनस् ! त्यति सजिलो छ एक्टिङ ?’ पहिले त्यस्तो भनेको मान्छेबाट अहिले बिपिनले निरन्तर प्रशंसा र हौसला मात्र पाइरहेछन् । अचेल सुनील उनलाई भन्छन्, ‘तँ मेरो बेस्ट एक्टर हो । तैंले जे गरे पनि राम्रो गर्छस् । तँ भित्र एक्टरमा हुनुपर्ने कुरा छ ।’
यस्तो प्रशंसा गुरुकुलमै छँदा अमेरिकाको एउटा एडप्टेड नाटकमा उनले अभिनय कला देखाएयता जारी छ ।
पुर्खाले जस्तो पाउरोटी चपाइएन
कलाकारिताको बाटोमा धेरैले निकै घामपानी सहेको अनुभव सुनाउँछन् । बिपिनसँग यस्ता किस्सा छैनन् । उनी भन्छन्, ‘बाउबाजेको कथा जस्तो भोकै पेट सुतेँ, पाउरोटी खाएर कति रात कटाएँ भन्ने खालको संघर्ष चाहिँ मैले गर्नु परेन ।’
उनीसँगैका कतिपय साथीको जीवन भने उनले भने झैं पुर्खाको कथा जस्तो पनि थियो । तर, मध्यमवर्गीय परिवार भए पनि उनको घरको हालत त्यस्तो दयनीय नभएकोले आर्थिक दशा झेल्नुपरेन ।
त्यसमाथि गुरुकुलको होस्टलमा बस्न थालेपछि छात्रवृत्ति पनि पाउँथे उनी । पाँच हजारबाट सुरु भएको छात्रवृत्ति रकम साढे १० हजार रुपैयाँसम्म पुगेको थियो ।
उनले खासै संघर्ष गर्नु नपरेको भने पनि यसको मतलब उनको अभिनय यात्रा जादुको छडी जस्तो एकाएक चम्किएको पनि होइन ।
उनको फिल्मी यात्रा ‘आचार्य’ बाट सुरु भएको थियो, जुन बेला उनले नाटक पनि खासै गरेका थिएनन् । फिल्मको कास्टिङ डाइरेक्टर रहेछन् सौगात मल्ल, जो गुरुकुलका चिनारु नै थिए । उनीबाट फिल्म खेल्ने प्रस्ताव आउँदा मक्ख परेर तुरुन्तै सहमति जनाए । शंकर होटलमा पुगेर अडिसन पनि दिए । के–के न रोल होला भनेर मनमनै लड्डु खुब फुटिरह्यो ।
‘छड्के’ उनको डेब्यु फिल्म बन्यो । जसबाट उनी दर्शकसहित निर्माता–निर्देशकको रोजाइमा परे । भन्छन्, ‘राम्रो हुँदै गयो भने अडियन्सले विश्वास गरिदिँदा रै’छन् ।
‘भरे त फिल्ममा सानो रोल पो छ,’ उनले त्यो रमाइलो प्रसंग उप्काए, ‘भक्तराजलाई कुट्ने सिनमा दुई–तीन जना केटामध्ये एक जना रै’छु म ।’ फिल्ममा खेल्ने रहर पालिरहँदा त्यतिबेला त्यति रोल पाउनु पनि ठूलो कुरो जस्तै भयो ।
थिएटरको पृष्ठभूमिबाट फिल्ममा छिरेका सौगात र कर्माले खेलेको ‘कागबेनी’, ‘सानो संसार’ फिल्म देख्दा उनमा फिल्मको तिर्खा लागेको थियो ।
त्यसपछि उनले ‘लुट’ फिल्ममा पनि काम गरे । त्यसमा पनि अभिनय के भन्नु, माने (प्रवीण खतिवडा) को तास खेल्ने अड्डामा मानेको आसेपासेमध्ये बिलकुल निस्क्रिय भूमिकामा उनले देखिने मौका पाए ।
यस हिसाबले ‘छड्के’ उनको डेब्यु फिल्म बन्यो । जसबाट उनी दर्शकसहित निर्माता–निर्देशकको रोजाइमा परे । भन्छन्, ‘राम्रो हुँदै गयो भने अडियन्सले विश्वास गरिदिँदा रै’छन् । अडियन्सले विश्वास गरिसकेपछि प्रोड्युसर–डाइरेक्टरहरुले पनि विश्वास गर्नैपर्ने हुन्छ ।’
गुरुकुलमा छिर्दा उनी चञ्चले थिए, आलोकाँचै थिए । त्यहाँ नाटक हेरे, सिके । फिल्महरु हेर्ने, किताब पढ्ने संस्कार बस्यो । कलाकारिताको एउटा अनुशासनमा बाँधिए । बेलाबेलामा कहिले नर्वेबाट, कहिले डेनमार्कबाट नाटक सिकाउने गुरुहरु आएर नाटकको कार्यशाला चल्थ्यो ।
कला बुझ्दै गएपछि हिजो अर्थ न बर्थका लाग्ने कुरा खासमा त महान् कुरा रहेछन् भन्ने भेद खुल्न थाल्यो । ‘हिजोका दिनमा कविता सुन्दै नसुन्ने मान्छे म अहिले सबभन्दा खुङ्खार विधा नै कविता रै’छ भन्न थालिसकेँ ।’
थोरै शब्दमा धेरै कुरा भन्ने माध्यम भएकोले कविता शक्तिशालि मान्छन् उनी । कहिलेकाहीँ लेख्छन् पनि । ‘छड्के’ फिल्ममा त भुटुटु बोलको गीत लेख्नुका साथै गाए पनि ।
गुरुकुलमा खेलेका नाटकहरुमा दर्शकले उनलाई राम्रैगरी फुक्र्याए । नाटकघर भत्किएपछि पनि उनले त्यहाँका दुइटा नाटकमा काम गरे । ती विभिन्न नाटकमा काम गर्दा प्रायः सबै नाटकमा उस्तै मजा आए पनि त्यसमध्ये पनि पछिल्लो पटक गरेको ‘रशोमन’मा निकै सन्तुष्टि मिलेको उनी सुनाउँछन् ।
दर्शक र समीक्षकको नजरमा पनि उनी ‘हेड्डा ग्याब्लर’ र ‘रशोमन’मा गरेको भूमिकाबाट प्रशंसित छन् ।
थिएटरमा मजा कि फिल्ममा ? एक्टिङमा !
थिएटर हुँदै फिल्ममा डेरा सरेकोले नयाँ पुस्ताका कलाकारहरुलाई जरा भुलेको आरोप पनि लाग्छ । तर, प्राविधिक पाटो फरक रहे पनि दुवैमा तात्विक भिन्नता देख्दैनन् बिपिन । जहाँ पनि एक्टिङ नै मुख्य कुरा भएकोले थिएटर र फिल्म दुवैमा मन पराउँछ उनको ।
तर, कता–कता थिएटरको प्रेम बढी देखिन्छ ।
‘छड्के’ पछाडि अरु फिल्म खेल्ने अफरहरु आए पनि उनी मौन बसे । त्यसबीचमा धेरै स्क्रिप्टहरु पढे । अहिलेसम्म ५० भन्दा बढी स्क्रिप्ट पढिसक्दा औंलामा गन्न सकिने मात्रै चित्त बुझे
अहिले नाटक छोडेर फिल्ममा लागेको जस्तो देखिए पनि उनी ‘मिस’ गरिरहन्छन् थिएटर । थिएटरमा एक्टिङ गर्नुभन्दा अगाडि रिहर्सल लगायत ब्याक स्टेजको पाटो बढ्ता मजा लाग्छ उनलाई । मनको भक्कानो खोले, ‘अर्को वर्षसम्ममा एउटा नाटक गर्ने सोचिरहेको छु ।’
असीम प्रेम भए पनि थिएटरमा लागेका सबैको र सधैंको रोग उनलाई पनि बिझाउँछ, त्यो हो – थिएटरमा पैसा नै हुँदैन, पहिलो कुरा त कलाकार बाँच्नुपर्यो नि !
यही कारण हो, फिल्ममा चित्तबुझ्दो प्रस्ताव आए थिएटरका कुनै पनि कलाकारले त्यो अवसर गुमाउन चाहँदैन । थिएटरबाट नामी कलाकारहरू टाढिँदै जानुको कारण पनि यही नै हो । यथार्थ यो भए पनि थिएटरका कलाकारले पैसालाई केन्द्रमा नराखी समर्पित भएर काम गर्ने गरेको उनले बताए ।
फिल्मका अधिकांश स्क्रिप्ट झुर
कुनै पनि फिल्ममा खेल्ने प्रस्ताव आउँदा विपिन सबैभन्दा पहिले स्क्रिप्ट हेर्छन् । पैसा र सम्झौताका अन्य कुरा त्यसपछिको पाटो । स्क्रिप्ट चित्त बुझ्यो, त्यसमा आफूलाई छुट्याइएको चरित्र ठीक लाग्यो र त्यसलाई आफ्नो ‘सिर्जनशील चलखेल’ले अझै बनाउने ठाउँ देखियो भने बल्ल खेल्न राजी हुन्छन् ।
स्क्रिप्ट मन परेन र त्यसमा खेल्ने ठाउँ देखिएन भने उनी केही बहाना बनाएर पन्छिने गर्छन् । भन्छन्, ‘स्क्रिप्ट राम्रो छैन, तपाईंको सिर्जना मन परेन भन्न त अलि गाह्रै हुन्छ ।’
‘छड्के’ पछाडि अरु फिल्म खेल्ने अफरहरु आए पनि उनी मौन बसे । त्यसबीचमा धेरै स्क्रिप्टहरु पढे । अहिलेसम्म ५० भन्दा बढी स्क्रिप्ट पढिसक्दा औंलामा गन्न सकिने मात्रै चित्त बुझे । ‘ती सबै रिजेक्ट गरेको होइन,’ उनले कारण खोले, ‘पढ्दा सशक्त र खेलूँ–खेलूँ नै नलाग्ने ।’
फिल्म बनाउँछु भनेर पहिलो पल्ट स्क्रिप्ट लेखेर आउनेहरु उनले कस्तोसम्म देखेका छन् भने उनीहरुलाई स्क्रिप्टको फम्र्याट समेत थाहा हुँदैन ।
उनी फिल्म खेल्दा पनि लिङ्क मिल्ने टिममा काम गर्न रुचाउँछन् । निर्देशकले पनि कलाकारको कुरा सुनोस् । तर, कुरा सुने पनि त्यसमा आफ्नो विचार र सुझाव पनि देओस् । भन्छन्, ‘डाइरेक्टरले मैले जे बोलेको छु, त्यसलाई अन्धाधुन्ध हुन्छ भन्ने भन्दा पनि यो के कारणले भएन भन्यो भने चाहिँ काम गर्न मजा आउँछ ।’
कुनै पनि क्यारेक्टर कस्तो बनाउने भन्ने कुरामा सबभन्दा प्रमुख कुरा डाइरेक्टरको भिजन देख्छन् उनी । स्क्रिप्टमा भएको क्यारेक्टरलाई उसले कुन भिजनले हेरेको छ ? उनी चाहिँ पहिलो चरणमा स्क्रिप्ट पढ्दापढ्दै मनमनै खाका बुनिहाल्छन्, आफ्नो लागि छुट्याइएको यो रोलमा म यसरी–यसरी ट्राइ गर्छु ।
निर्देशकको भिजनको भूमिका आफ्नो ठाउँमा भए पनि आफ्नो रोलमा कलाकारको सिर्जनशीलता र मिहिनेतकै खाँचो बढी देख्छन् उनी ।
‘स्क्रिप्टमा भएको कुरा मात्र पढेर क्यारेक्टर असरदार हुँदैन, त्यसलाई थप्दै र बढाउँदै लग्नुपर्छ’, कुनै पनि चरित्र सफल हुनुको रहस्य बताए, ‘क्यारेक्टरलाई कसरी जीवन्त बनाउने, मैले यसो ग¥यो भने अडियन्सलाई मन पर्छ होला भनेर दिमाग चलाइन्छ ।’
त्यसरी सोच्ने क्रममा राम्रो कुरा प्रस्तुत गर्न कुनै बेला स्क्रिप्टको सीमा पनि नाघिने उनको अनुभव बताउँछ । कलाकारले गर्न चाह्यो भने डाइरेक्टरले थाहा नपाउने र राम्रो कुरा पुर्याइदियो भने स्क्रिप्टमा भएको डाइलग गौण कुरा हुने उनलाई लाग्छ ।
उनले अहिलेसम्म काम गरेका फिल्ममा निर्देशकहरू पनि त्यस्तै भेटेका छन्, कुरा सुन्ने र सिर्जनशीलतालाई ठाउँ दिने ।
अन्तर्मुखी स्वभाव, फक्रिएको अभिनय
बिपिन निकै कम बोल्छन् । मान्छेहरूसँग तुरुन्तै खुल्दैनन् ।
यस्तो अन्तर्मुखी स्वभावले उनलाई फिल्मको चरित्रमा खुल्न छेकबार लगाउँदैन ?
उनी यसलाई नकार्छन् । आफ्नो यही अन्तर्मुखी स्वभाव नै चरित्रमा खुल्न वरदान भएको उनको अनुभव छ । ‘आफ्नो रियल क्यारेक्टरभन्दा फरक भूमिका गर्दा बिलकुल अर्कै छनक निकाल्न सकिन्छ,’ उनले बताए, ‘रियल लाइफमा कम बोल्ने म फिल्ममा धेरै बोल्ने भूमिकामा उभिँदा मजा हुन्छ । रियलमै म धेरै बोल्ने भएको भए त्यति मजा हुँदैनथ्यो होला ।’
कम खुल्ने बिपिन अभिनयमा फरक हर्कतमा खुलाउँदै आफूलाई साबित गर्दै गएका छन् । त्यो यात्रामा उनी अहिले ‘जात्रा’मा आइपुगेका छन् ।
हिजोको समयमा बढी ‘फन्नी’ पाराका थिए । आज गाम्भीर्य थपिएको छ । अभिनय कर्ममा पनि त्यो गाम्भीर्य उनको खुबी बनेर फरक–फरक चरित्रहरुमा बगिरहेछ ।
(रेडियो अडियोसँग थोरै जोडिएको यो समाचार नोभेम्बर १०, २०१६ मा अनलाईखबर.कममा प्रकाशित भएको थियो । )
SHARE THIS
More Media
May 28, 2017
Details
May 28, 2017
‘खासमा हामीले झुक्किएर यो काम सुरु गर्यौँ,’ रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँले भन्छन्,
Details
Mar 8, 2017
सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ को द्वैमासिक साहित्यिक कार्यक्रम सम्पन्न
Details
Mar 7, 2017
१ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिए ।
Details
Mar 7, 2017
रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए ।
Details
Mar 7, 2017
दर्शकले नै मेरो नाम ‘राजा राजेन्द्र’ राखिदिए - कृष्ण भट्टराई
Details
Mar 7, 2017
Details
Mar 7, 2017
यसपटक त्यसो हुन नसकेको रेडियो अडियोका प्रभात लामाले जानकारी दिएका छन् ।
Details
Mar 7, 2017
यो रोयल्टी -आर्थिक बर्ष बार्षिक कारोबारको एक प्रतिशत हो : दिपेन्द्र खनिया
Details
Mar 7, 2017
Details
Mar 7, 2017
Details
Mar 7, 2017
गजल सुनाउने वातावरण रेडियो अडियो एफएम र फर्सि डटकमले मिलाएका थिए ।
Details
Mar 7, 2017
म रेडियो अडियोमा भने साप्ताहिक रुपपमा नियमित आउने छु ।
Details
Mar 3, 2017
विदेश जानुपर्ने भएकाले रेडियो स्टेशन बिक्रीमा !
Details
