Radio Audio Program

Find us on Facebook

News

​यी हुन् नेपाली कला र साहित्यमा सफल, फरक क्षमता भएका ब्यक्तिहरु ।

​यी हुन्  नेपाली कला र साहित्यमा सफल, फरक क्षमता भएका ब्यक्तिहरु ।

मंसिर १७, कठमाण्डौँ ।
अपाङ्गता असक्षमता होईन । तर, हामीकहाँ अपाङ्गता भएका ब्यक्तिलाई बिभेद गर्ने चलन अझै हटिसकेको छैन । अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण, गरिने ब्यवहार र अपाङ्गमैत्री संरचनामा धेरै परिवर्तनहरु खाँचो छ । अभाव र समस्याकाबीच अपाङ्गता भएका ब्यक्तिहरुले परिवार , समाज र राष्ट्रका लागि आफुले सक्ने योगदान दिईरहेका छन् । केही उदाहरण यहाँ प्रस्तुत छन् ।

झमक घिमिरे
जीवन काँडा की फूल ? साहित्यकार झमक घिमिरे भन्छिन्–जीवन फूल हो । काँडाहरु हुन्छन्, पन्छाउन जान्नुपर्छ । झमकको आत्मकथात्मक कृति जीवन काँडा की फूल पढेपछि, लाग्छ जीवन त साँच्चै फूल नै हो । काँडाहरु पनि हुन्छन् –पाईला पाईलामा घोच्ने । तर, त्यही अप्ठ्यारो भित्र रहेर आफुलाई कसरी फुलाउने भन्ने महत्वपूर्ण रहेछ । झमकलाई पढिसकेपछि, धेरैले भनेका छन्– मैले बल्ल जीवन बुझेँ ।  झमक यो कृतिसँगै संकल्प, मान्छे भित्रका योद्धाहरु, अवसान पछिको आगमन,आफ्नै चिता अग्निशिखरतिरका लेखक हुन् । सम्झनाका बाछिट्टाहरु, क्वाँटी संग्रह पनि उनैले लेखेका हुन् ।  उनी चोटिला कवितामार्फत जीवन लेख्छिन् । र जीवन सँधै अप्टठ्यारो र अँध्यारो मात्रै छैन है, भनेर पाठकलाई बुझाउँछिन् । उनले लेखेका कविताहरु झमक घिमिरेका कविताहरु संग्रहमा पढ्न पाईन्छ । पाठक र समालोचकले खुब रुचाएको, उनको कृति जीवन फूल की काँडाले २०६८ सालको मदन पुरस्कार पाएको छ । उनी नै मदन पुरस्कार पाउने, पारिजात पछिको दोस्रो महिला हुन् । आफैँले भोगेको जीवन , आफ्नो साहित्यमा उतार्ने झमकका रचनाहरु यथार्थपरक छन् । उनी भन्छिन् म कष्ट र पीडालाई हाँसीहाँसी सहनेहरुको कथा लेख्छु । उनी अन्य साहित्य रचनासँगै कान्तिपुर दैनिकमा स्तम्भ लेख्छिन् । जुन, रुचाईएको स्तम्भभित्र पर्छ । उनका आफ्नै समस्याहरु छन् । तर, साहित्य क्षेत्रमा सक्रियता रत्तिभर पनि कम भएको छैन । उनी यो फूल जस्तो जीवन पाठकहरुलाई समर्पण गर्न चाहन्छिन् ।

झमकले नेपाली साहित्य क्षेत्रमा दिएको योगदानको सायदै वर्णन गर्न सकिन्छ । उनले सिकाएको अर्को महत्वपूर्ण कुरा हो–अपाङ्गता र  प्रतिभा फरक कुरा हुन् । अपाङ्गता भएका ब्यक्तिलाई कसैले कमजोर सोच्छ भने त्यो गलत हो । उनले यो कुरा बुझाउन परिवारैदेखि संघर्ष थालिन् । २०३७ सालमा धनकुटामा, जन्मिएकी झमक जन्मिदै अस्वथ थिईन ।  प्रतिमतिस्क रोग–सेरब्रल पल्सीको शिकार बनेकी उनलाई यी उत्कृष्ठ कृतीहरु लेख्नु सायद कुनै बेला सपना थियो । एउटा अप्ठ्यारो सपना । उनको लुलो हात गोडा र अशक्त शरीरको धेरैले खिल्ली उडाए । त्यसमाथि गरीबी थियो उनको दुश्मन । कति छाक भोकै बस्ने परिवारमा जन्मिएकी झमकलाई गाउँमा त्यसबेला मुर्कुुटा भनिन्थ्यो । पढ्न, लेख्न खोज्दा उनी पिटिन्थिन् । तर, उनको सपना थियो–अक्षर चिन्ने । अक्षर लेख्ने । अनि सपना थियो–मनको पीडा सबै लेख्ने । र त्यो उनले पूरा गरिन् । बालापनमा घरबाटै भएको बिभेद । गाउँकाले गरेको दुब्र्यबहार । बर्षौँ एकैथलामा बस्नुपर्दाको पीडा सबै लेखिन् । र प्रमाणित गरिन्–जीवन फूल हो । उनी भन्छिन्–काँडालाई फूलमा बदल्ने ईच्छाशक्ति संगाल्नुहोस् । जीवन अवश्य फुल्नेछ ।

प्रकाश तिमल्सिना
प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ..यो गीत अझै धेरैले गुनगुनाउँछन् । यो मीठो स्वर प्रकाश तिमल्सिनाको हो । २०४४ सालमा जन्मिएका प्रकाशले, यससँगै दर्जनौँ गीत गाएका छन् । उनी साउथ एसिएन स्टार नेपालका बिजेता हुन् । उनी भारतमा भएको यसै प्रतियोगीताको फाईनलिस्ट हुन् । उनले त्यस प्रतियोगीतामा, बेस्ष्ट ईङिलस स्पिकिङको उपाधी पनि पाए । दुईवटा आफ्नै एल्बम निकालिसकेका प्रकाश नेपालीसँगै, हिन्दी र अंग्रेजी भाषाका गीतहरु पनि गाउँछन् ।  नेपालसँगै दक्षिण एसियामै लोकप्रिय प्रकाशले औपचारिकरुपमा संगित भने सिकेका छैनन् । आर्थिक अभावका कारण,संगितसम्बन्धी औपचारिक तालिम लिन नसकेपनि उनले आफुलाई सांगितिक उद्योगमा  अग्र पंक्तिमा राखिसकेका छन् । उनको सुमधुर स्वर र सयौँ फ्यानले पनि यो कुरा पुष्टि गर्छ ।

कालो चस्मा नछुटाउने,सँधै चिटिक्क परेर हिड्ने, मीठो स्वरले मन्त्रमुग्ध पार्ने प्रकाश दृष्टिविहिन हुन् । उनी बाहिरी संसार देख्न सक्दैनन् । तर, उनको कल्पनाशक्ति अद्भुत छ । उनी कल्पना गरेकै भरमा, बढो मीठो संगित सिर्जना गर्छन् । मीठो स्वरमा गाउँछन् । उनी स्टेजमा, भावमा डुबेर गाउँदै गर्दा, कसैलाई भान हुँदैन की उनी आँखा देख्दैनन् ।

२०४५ सालमा भुकम्प आयो । कोशीटप्पुको प्रकाशपुरमा रहेको उनको घरमा पनि भुकम्प गयो । भुकम्पले त केही गरेन । तर, त्यसैबेला आएको बाढीले उनको घर बगायो । एकबर्षको बालक प्रकाशले, त्यसैबेला बुवाआमा गुमाए । उनलाई पनि बाढीले बगायो । भाग्यमानी प्रकाश माझीको जालमा परे र बाँचे । उनी संयोगवश आफ्नै मीतबुवाको जालमा परेका थिए । पछि, हजुरआमासँग भेट भयो । उनै हजुरआमाले मागेर पालीन् प्रकाशलाई । दशथरी मानिससँग हात पसारेर भए पनि उनको हजुरआमाले प्रकाशको आँखाको उपचार गराईन् । तर, नहुनु थियो । प्रकाशले गुमाएको ज्योती फर्केन । उनी भन्छन्–जीवन कहिलेकाही चलचित्र झैँ लाग्छ । मैले आँखाको ज्योती नपाएपनि जीवन पाएँ । गुमिसकेको जीवन मैले सायद त्यसै पाएको होईन । केही गरेर देखाउन पाएको हुनुपर्छ । त्यसैले, पुर्नजीवन पाएका प्रकाशले आफ्नो सपनालाई साकार पार्न मेहनत गरे । कमजोर आर्थिक अवस्था, दृष्टिबिहिन–यीनै समस्यालाई उनले शक्तिको रुपमा लिए । मेहनत जारी राखे । संगितको क्षेत्रमा आए । र उदाए पनि । उनी अहिले नेपाली सांगितिक क्षेत्रका उम्दा गायक हुन् । उनले सांगितिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप दुई पटक राष्ट्रिय सम्मान पनि पाईसकेका छन् ।

रोमा न्यौपाने
जब गीत बज्छ, रोमा न्यौपानेका शरीर उत्साहले उसै नाच्न थाल्दछ । संगितले उनको शरीरमा छुट्टै उर्जा दिन्छ । उनी एउटा खुट्टा नभएको कुरा भुलिदिन्छिन् र छमछमी नाच्छिन् । नेपाली नृत्य क्षेत्रमा रोमाको बेग्लै पहिचान छ । उनी, भ्याएसम्म आएका निमन्त्रणालाई अस्विकार गर्दिनन् । सानो नानी काखीमा च्यापेरै भए पनि स्टेज पुग्छिन् । र, जादुमयी नृत्यले दर्शकको मन जित्छिन् ।  देशैभर र विदेशमा गरी उनले, अहिलेसम्म हजारौँ स्टेजमा आफ्नो कुशल नृत्यकला प्रस्तुत गरिसकेकी छिन् ।

रोमाले ८ बर्षको कलिलो उमेरमा खुट्टा गुमाईन । ओभरस्पिडमा आएको गाडीले उनको एउटा खुट्टालाई, अपाङ्ग बनाई छाड्यो । केटाकेटी छँदा त उसलाई आफ्नो एउटा खुट्टा नभएको भनेर खासै चिन्ता भएन । तर, जब किशोरावस्थामा पुगिन् । रहरहरु बढ्दै गए । उनी पनि आम किशोरीहरु झैँ खुल्ला संसारमा पर पर जान चाहन्थिन् । खुट्टा नभएकै कारण चाहेको काम गर्न नपाउनु र अरुले गर्ने बिभेद सहनु कम पीडादायी थिएन । तै पनि उनी आफुलाई केही न केही काममा ब्यस्त राख्न खोज्थिन् । कहिले स्विटर बुन्थिन् । कहिले कम्प्युटर सिक्थिन् । सानै उमेरदेखि कुँजिएर बस्नुपरेको रोमालाई छमछमी नाच्ने रहर भने पुगेको थिएन । उनी नृत्य सिक्न थालिन् । बिस्तारै उनको नृत्यको प्रशंसा हुन थाल्यो । कार्यक्रमहरुमा नाच्न थालिन् । र आफुलाई कुशल नृत्यङ्गना भएको सावित गरिन् । एउटै खुट्टाले पनि नाच्न सक्ने प्रमाणित गरिन् ।

उनी अहिले आर्थिक हिसाबले केही सक्षम भएकी छिन् । घरमा, सहयोगी श्रीमान् छन् । तर, उनले अपाङ्ग भएकै कारण भोग्नुपरेको बिभेद र शोषण भुलेकी छैनन् । त्यसैले उनले अपाङ्गता भएको ब्यक्तिहरुलाई केही सहयोग गर्ने हेतुले रोमा फाउण्डेसन खोलेकी छिन् । अपाङ्गता बोझ होईन । घरपरिवार र समाजबाट सहयोग पाए आत्मनिर्भर हुनसक्छन् भन्ने देखाउन उनको प्रयास जारी छ । उनी भन्छिनम्– अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको छ । तर प्रयाप्त भने छैन ।

सुदर्शन गौतम
सगरमाथा चढ्नु सानोतिनो काम होईन । हामीलाई लाग्छ– त्यसका लागि सबैभन्दा ठूलो हिम्मत चाहिन्छ अनि सँगै शारीरिक सबलता । तर, सुदर्शनको शरीरिक सवलताको कुरा गर्ने हो भने, उनको दुईटै हात छैन । उनले सन् २०१३ मा सगरमाथा चढेर, आत्मविश्वास भए, अपाङ्गता भएका ब्यक्तिले पनि सोचे भन्दा फरक काम गर्न सक्ने पुष्टी गरिसकेका छन् । त्यसअघि नै उनले याला र रामदुङ हिमाल चढिसेकेका थिए । रामेछापमा जन्मेका सुदर्शनले बाल्यकालमै हात गुमाएका हुन् । दुबै हात नहुँदा उनले धेरै समस्या भोग्नुपरेको छ । तर, उनलाई अपाङ्गता असक्षमता होईन भन्ने लाग्छ । यही कुरा पुष्टी गर्न उनले लेखे, पढे । संसार बुझे । सगरमाथा चढे । उनले चलचित्र हिम्मतवालीमा पनि अभिनय गरेका छन् । दुबै हात नभए पनि उनी आफ्ना दैनिक कामहरु आफैँ गर्छन् । मेरा हात छैनन् । मैले मागेर खानु पर्छ । यस्ता मान्छेलाई समाजले के भन्लान्  भन्ने उनलाई कहिल्यै लाग्दैन ।


झमक, प्रकाश, रोमा र सुदर्शनहरु प्रतिनीधी पात्र मात्रै हुन् । हाम्रै घरपरिवार र समाजमा अपाङ्गता भएका धेरै ब्यक्तिहरु छन् । उनीहरुले आफ्नो ठाउँबाट आफ्नै परिवार र समाजलाई पु¥याईरहेको योगदान अतुलनीय छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने धारणामा केही परिवर्तनहरु आएका छन् । तर, प्रयाप्त भने छैन । अपाङ्गता भएका ब्यक्तिहरु अझै कल्पनै गर्न नसकिने जीवन बाँचिरहेका छन् । अपाङ्गता असक्षमता कहिल्यै होईन । अन्र्तराष्ट्रिय अपाङगता दिवसको सुभकामना ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ  

Post Comment

Radio Audio Live