मैले जीवनको असाध्यै उर्बर समय रेडियोमा बिताएको छु । त्यसैले रेडियोको विकल्पमा मसँग केही पनि छैन । मैले केही गर्न जानेको छु, सिकेको छु र बुझेको छु भने रेडियो र रेडियोसँग जोडिएको कुराभन्दा केही पनि छैन, कोही पनि छैन । विश्व रेडियो दिवसको अवसरमा कलम चलाउँदै गर्दा केही कुरा भन्न र लेख्न मन लाग्यो । म रेडियोकर्मी बन्छु भनेर रेडियोकर्मी बनेको होइन । रहरले भन्दा पनि बाँच्नका लागि करले काठामाडौं भित्रिएको थिएँ । बाँच्ने सिलसिला थियो । काठमाडौंमा जे काम पाइन्छ, त्यही काम गर्दै गएँ । कहिले महाबौद्धको औषधि पसलमा सेल्स ब्वाइ भएँ । कहिले बागबजारमा पत्रिका पसले भएँ । यही सिलसिलामा खै कसोकसो उछिट्टिएर म रेडियोसँग जोडिन पुगें । पहिले स्रोताका रुपमा, पछि पत्रकारका रुपमा । अनि अहिले साहुजीका रुपमा ।

म झण्डै २ दशकदेखि रेडियोसँगै छु । स्रोतापछि रेडियो सगरमाथामा काम गर्दा रेडियो बुझें । काम सिकें । करिब ३ बर्षपछि कम्युनिकेशन कर्नर, अहिलेको उज्यालो रेडियो नेटवर्कतिर फड्को मारें । कम्युनिकेशन कर्नरमा अनुभव लिएँ । झन् धेरै कुरा सिकें । रेडियोमै आफ्नो भविश्य देखें । रहर लाग्यो । रेडियो र रेडियोसँगको भुतले छुट्टै सपनाको महल बनाएँ । आँटेको काममा एकोहोरो लाग्ने बानी पर्यो । ‘रेडियो साहुजी’ बन्ने सपना पनि पूरा गरें । हाँसोको मात्रै व्यापार गर्ने देशकै रेडियोको रुपमा ‘रेडियो अडियो’को आधार खडा गरें ।

गएको मंसिर २१ गतेपछि रेडियो अडियो १० वर्षमा प्रवेश गरेको छ । यहीबीचमा मैले रेडियोसँग जोडिएका कुराहरुलाई नजिकैबाट हेर्ने पाएँ । चिहाउन सकें । अनि खोतल्ने मौका पाएँ । रेडियोबाटै नाम पाएँ । काम पाएँ । दैनिक गुजारा चलाउने दाम पाएँ । सबै भन्दा ठूलो आत्मसन्तुष्टि पाएँ । जानेर नजानेर, थाहा पाएर नपाएर । रेडियोसँगै दिन बिताएका धेरै वर्षमा सुखमात्रै आएन, अप्ठेरा र असजिला दिनहरु पनि आए । तनावै तनावले रात बिते । कहिले मन हार्यो । कहिले सपना उड्यो । तर, रेडियोसँगको नाता टुटेन, जहाँ म अहिले रमाइएको छु । यो खुसीको कुनै पनि मूल्य छैन । तर, अबको यात्रा सजिलो पनि छैन ।

रेडियोका लागि यात्रा कठिन

चार वर्षअघि म कार्यक्रमको सिलसिलामा पश्चिम नेपाल पुगेको थिएँ । स्थानीय एउटा प्रसारण संस्थाका साथीहरुले फूलमालासहित अभिनन्दन गर्नु भो र प्रसारण संस्थाको गतिविधि सुनाउँदै रेडियो स्टेशन घुमाउनु भो । उहाँहरु भन्दै हुनुहुन्थ्यो, सर हामी यो क्षेत्रका ४२ वटा जिल्लामा सुनिन्छौं । स्टुडियो यहाँ छ । टावर उ त्यो डाँडामा छ । हाम्रो मात्रै रेडियो छ त्यहाँ । साथीहरुको कुरा सकिन नपाउँदै, बत्ती गयो । प्रशारण संस्थामा अँध्यारो छायो । ४२ जिल्लामा आवाज सुनिने रेडियो अब बिजुली नआउँदासम्मका लागि बन्द भयो ।

केही समय पहिले काठमाडौंको एउटा रेडियो महिनाको ४० हजार रुपैयाँ भाडामा सञ्चालन गर्ने भए ल मौका छ है भन्ने अफर आयो । एक समयमा स्रोताको र बिज्ञापनदाताको राम्रै रोजाइमा पर्ने काठमाडौंको स्थापित रेडियोमा त अहिले कुनै रक्सीको ब्राण्डको नाम घन्किन्छ । एकताकाको ठूलो पार्टी माओवादी टुक्रिएपछि पूर्वी नेपालको एउटा रेडियो स्टेशन पनि अंशबण्डामा परेछ । सुनेको हो, स्टुडियो एउटाको भागमा, डाँडाको टावर अर्काको भागमा । ट्रान्समिटर अर्काको भागमा र त्यहाँ कार्यरत कर्मचारी चाँहि पलायन ।

मेरो देशमा रेडियो, गाविसले चलाउँछ । नगरपालिकाले बजाउँछ । सहकारीले घन्काउँछ । स्कुल र कलेजका नाममा मन्त्रालय लाइसन्स बाँड्छ, रेडियो अर्कैले चलाउँछ । दलको रेडियो छ । दलभित्र पनि बिचारको रेडियो छ । बिचारभित्र पनि गुटको रेडियो छ । रेडियो प्रसारकहरुको छाता संगठनको चुनाव आउनुपर्छ, सबै घामजस्तै छर्लङ्ग हुन्छ । मेरो प्रश्न–हामी रेडियोकर्मीहरु कहिले व्यवसायिक हुने ?

वाट र क्षमतामा प्रतिस्पर्धा गर्दैमा अबको रेडियोको यात्रा सजिलो छैन । कुन डाँडामा रेडियोको टावर राख्ने ? कति अग्लो टावर राख्ने ? कहाँबाट लिंक गर्ने भनेर टावरको उचाइमा अल्झने समय पनि अब रेडियोका लागि शुभ छैन । रेडियोलाई हामीले अहिलेसम्म सूचना र मनोरञ्जनको चौतारी बनाएका छौं । कतै विकास र समावेशी आवाज भनेका छौं । कतै परिवर्तनको सम्वाहक भनेका छौं । कतै नेपालीको, कतै माटोको आवाज भनेका छौं । तर, आफै परिवर्तन हुन सकेका छैनौं । आफ्नै आवाज समेट्न सकेका छैनौं । आफ्नै बोलीलाई चम्किलो बनाउन सकेका छैनौं । हामी अरुका कुरामा रमाउँदा रमाउँदै स्खलित भैसकेका छौं ।

प्रशारण संस्थाका एउटै कार्यक्रम छन् । उही पुरानै बजार छ । उस्तै जनशक्ति छ । व्यवस्थापनको सोच उस्तै छ । दिनदिनै फरक सामाग्री र विषयमा आवाज उठाउनुपर्ने हामी प्रशारक आफू चाहिँ उस्तै छौं । जबसम्म रेडियोले प्रशारण गर्ने विषय र सामाग्रीका दायराहरु फराकिला हुँदैनन्, तबसम्म रेडियो प्रशारकले नयाँ बजार खोज्न सक्दैनन् । जबसम्म आफ्नो जनशक्तिलाई ट्रान्समिटर र एन्टेनाजस्तै सम्पत्तिका रुपमा लिन सक्दैनन् र समय अनुसार व्यस्थापनले आफूलाई परिवर्तन गर्न सक्दैनन्, तबसम्म रेडियो र रेडियोमा आश्रित जनशक्तिको अधोगति सुरु हुनेछ।

हामी आफूले आफैंलाई माया गरौं । आफूसँग भएका जनशक्तिलाई आफ्नो सम्पत्ति ठानौं । हाम्रो कर्म र भविश्यका बारेमा ढुक्क बनाऔं । हामीसँग आवाजको शक्ति छ । घमण्ड नगरौं । तर, यही नै हामीले गर्व गर्ने कुरा हो । हामी सेलिब्रेटी जन्माउन सक्छौं । सेलिब्रेटी चिनाउन सक्छौं । चाहे ती रंगमञ्चका हुन् या तन्त्र दुनियाँका गगन थापा, रविन्द्र अधिकारी, गोकर्ण बिष्ट लगायत अहिलेका कुलमान घिसिङलाई हामी र हामी जस्तैले सेलिब्रेटीका रुपमा देश र दुनियाँमाझ चिनाएका हौं । यसमा अप्ठेरो मान्नुपर्ने कुरै छैन । हाम्रो काम नै सबैभन्दा ठूलो परिचय हो । अरु सम्मानित कामजस्तै हामी पनि रेडियो कर्ममा छौं ।

शिक्षक भएर, डाक्टर भएर, इन्जिनियर भएर जीवन चलाएजस्तै रेडियोकर्मीको पनि भविश्य छ । बैंकमा वा एनजीओ आइएनजीओमा काम गर्नेको जस्तै दैनिकी हाम्रो पनि हुन्छ र हुनुपर्छ भन्ने गतिमा काम गरौं । यो सम्भव पनि छ । सकिँदैन भने अरु नै काम थालौं । तर, रेडियो प्रशारण संस्थाहरुलाई धमिलो नबनाऔं । प्रशारण संस्थाहरुलाई धमिलो बनाएर माछा मार्ने कोशिस पनि नगरौं ।

यति बेला प्रशारक र प्रशारण संस्थामा कार्यरत जनशक्तिको मनोबल उच्च बनाउनुपर्ने बेला आएको छ । अब हामीले नसोचे कल्ले सोच्ने ? हामीले नगरे कसले थाल्ने ? घरैपिच्छे रेडियो खोल्ने कुरा ठूलो होइन सही सञ्चालन गर्नाले महत्व राख्छ । हैन, पशुपतिनाथले चलाएको यो देशमा अब पनि यस्तै अवस्थाले निरन्तरता पाइरहने हो भने छिट्टै आउँदै छ त्यो दिन । काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकको वर्गीकृत विज्ञापनमा छापिनेछ, तुरुन्तै विदेश जानुपर्ने भएकाले चालु हालतमा रहेको रेडियो स्टेशन बिक्रीमा छ, पहिले आउनेलाई प्राथमिकता !

(लेखक रेडियो अडियोका कार्यकारी अध्यक्ष हुनुहुन्छ)

More Media