अप्रत्यासित ढंगले यहाँसम्म आइपुगेको छुः शिशिर भण्डारी

काठमाडौं । उमेरले मात्र २५ वर्षको ठिटो । तर, उनको अहिले सम्मको स्थानले जो कोही कलाकारलाई इष्र्या जगाउन सक्छ । रेडियो अडियो हुँदै रेडियो फिल्मी अनि टिभी फिल्मीसम्मको यात्रामा उनको अनुभव सात वर्ष पुग्नै लागेको छ । धेरैले उनलाई ‘डुप्लिकेट’ भनेर चिन्छन् । तर, उनको परिचय विस्तृत छ । हाँस्यकलाकार उनको अर्काे परिचय । तर, यसमा उनी बाँधिन चाहँदैनन् । उनलाई भर्सटाइल कलाकार भनेर चिनिने मन छ । उनी भन्छन्, ‘सिनेमामा आकल झुक्कल अनुहार देखाउने मात्र रहर होइन करियर नै सिनेमामा समर्पण गर्ने सोच हो ।’

धादिङको बैरेनीमा एक भाई सहित दुई सन्तानको परिवारमा जन्मिएका उनले बैरेनीबाटै एसएलसी दिएर काठमाडौं छिरे । डाक्टर बन्ने सोच थियो उनको । र, बने पनि । तर, यथार्थमा होइन चलचित्र होस्टेलका निर्देशक हेमराज विसीले उनलाई एमबिबिएस गर्न गाउँबाट आएको अति सोझो केटाको भूमिकामा सेतो कोट र स्टेथेस्कोप भिराइइदिएर डाक्टर बन्दै गरेको बनाएर उनको डाक्टर सपनालाई चित्त बुझाइदिए । उनी भन्छन्, ‘केहि समय अघिकोे डाक्टर सपना चलचित्रमा बडो जोस निकालेर प्रयोग गरेँ ।’
खासमा डाक्टरी पनि उनले पालेको लामो समयको सपना होइन । उनी सानैदेखि गीत गाउँथे । सुन्नेले प्रशंसा गर्थे नै । गायक बन्ने सपना सानै देखिको थियो, अझै पनि छ । आफैंले लेखेको उक्त गीतमा टंक बुढाथोकीले संगीत भरिदिए पछि आफैंले स्वर भरे र गायक बने ।
अभिनयको औपचारिक कक्षा नलिएका उनले आधा दर्जन सिनेमामा आफ्नो कौसलता देखाइसके । अभिनयमा खारिएका सुवास थापादेखि, केशव भट्टराई, सुशिल पोखरेल जस्ता हस्तीसम्मका सिनेमामा उनले अभिनय गरिसके । अहिलेसम्म सबैले तारिफ गरेकै छन् उनलाई । उनको चौथो चलचित्र हलमा लाग्दैछ ‘एउटा साथी’ । यसबाट पनि आशावादी छन् उनी । उनी भन्छन्,‘शिशिरले हँसाउन भन्दा जानेको छैन भन्नेलाई लभसब हेर्दा थाहा हुन्छ । हँसाउने देखि रुवाउनेसम्म सबै गरेको छु त्यसमा ।’
साइन्सको पढाई छोडेर मानविकी पढ्न थालेपछि जम्मा २८ दिनको मिडिया कोर्स गर्दै गर्दा रेडियो अडियोमा एउटा अडियो सिडी पठाए । रेडियो अडियोका निर्देशक दिपेन्द्र खनियाँले उनको प्रतिभालाई प्रयोग गर्न २०६४ साल माघ २० गतेबाट ‘उल्टोपाल्टो’ कार्याक्रम चलाउने जिम्मा दिए । कार्यक्रम हिट भयो बिस्तारै उनी पनि हिट हुँदै गए । रमाइलो कार्यक्रम चलाउने उनले अडियो इडिटिङ पनि सिके । तीन वर्ष पछि गोपीकृष्ण रेडियो फिल्मिमा काम पाए । टिभी फिल्मीमा करिब एक वर्ष जति न्युज चिफ पनि भएका उनी ‘डुप्लिकेट’ कार्यक्रमबाट चिनिए र नामपनि पाए ‘डुप्लिकेट’ ।
उनी आफुलाई पत्रकार भन्दैनन् । कलाकारको परिचयमा रमाउन चाहने उनलाई न्युज चिफ हँदा माथिबाट आउने प्रेसरले तनाव दिन्थ्यो । उनी हाल टिभी फिल्मिमा सिने प्रोडुसर र प्रेजेण्टरको रुपमा छन् । चलचित्र क्षेत्रकै विषयलाई लिएर बनाएको सिरियल ‘फोटोकपी’ का उनी निर्देशक, निर्माता र सम्पादक पनि हुन् । उनी भन्छन्,‘म मिडिया छोडेर जान्न किनभने मिडियाले नै मलाई काम सिकाएर परिचय दिलाएको छ । म जस्तो कम्प्युटरको साधारण कुरा पनि नजान्नेलाई सम्पादन गर्न सिकाएको छ । म आफ्नो कार्यक्रमको भिडियो मात्र होइन विज्ञापन पनि आफैं सम्पादन गर्छु ।’
उनी आफ्नै निर्देशनमा सिनेमा बनाउन लागेका छन् । इमोसनल अत्याचार नाम जुरेको उनको चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
अर्को चलचित्र ‘डुप्लिकेट’ लाई गापीकृष्ण मुभिजले लगानी गर्ने प्रस्तावसहित निर्देशनको जिम्मा सुम्पेको छ । तर, उनी अलि डर लागेको बताउँन् । तितो सत्यमा पनि अभिनय गरिरहेका उनलाई कसैले चिप भनेपनि उनी कलाकार भएपछि जस्तोपनि भुमिका गर्नुपर्ने बताउँछन् । धेरै चलचित्रमा अफर आएपनि कथा, ब्यानरमा चित्त नबुझेकोले अस्विकार गरेको बताउँछन् । उनी चाँडै सिनेमाका नयाँ पुस्ता र पुराना पुस्ताको संयोजनमा कार्यक्रम युगदेखि युगसम्म तयार पार्दै छन् । एक घण्टाको कार्यक्रममा पहिला नयाँ पुस्ताले प्रश्न सोध्ने र आधा घण्टाको ब्रेक पछि पुरानोले नयाँलाई प्रश्न सोध्ने कार्यक्रमको विशेषता हो ।
फेसबुकमा पनि नयाँ नयाँ आइडिया देखाइरहने उनलाई सोधियो ‘कसरि जुट्छ यस्तो आइडिया ?’, ‘म हरेक समय फरक फरक सोचिरहेको हुन्छु । यस्ता धेरै आइडिया छन् मसँग । तर, सबै मिडिया हाउसले पुरा गरिदिन सक्दैन ।’
यो सामाग्रि हामीले बाट साभार गरेका हौ । – See more at: http://www.zestkhabar.com/?p=5671#sthash.GEd7xkin.dpuf

More Media