बुधबार अपरान्ह ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए । खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसँग तपाइँहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं ?’

पाठकसँग लेखक, लेखकसँग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक नेपालमै सकिन्छ का विषयमा केन्द्रित थियो । प्रज्ञा भवन कमलादीमा जारी पुस्तक मेलाका क्रममा आयोजित अन्तरसंवादमा खनियाले लेखक भण्डारीसँग पुस्तकका विषयमा केही जिज्ञासा राखे । अनि पाठकलाई पनि जिज्ञासा राख्नका लागि आग्रह गर्दै भने, ‘रोहितजी यतिबेला तपाईँहरुको कठघरामा हुनुहुन्छ, पुस्तकका विषयमा आफूलाई चित्त बुझेका नबुझेका जे जे कुरा छन् त्यो सबै भन्नोस् ।’

कुराकानी करिब एक घन्टा चल्यो । रेडियो अडियोमा खुल्दुली डटकम मार्फत स्रोताका खुल्दुली मेट्ने खनियाले एक घन्टासम्म नेपालमै सकिन्छ पुस्तकका विषयमा आफ्ना र पाठकका खुल्दुली लेखक भण्डारी समक्ष राखे ।

पुस्तक किन लेखेकोदेखि लिएर पुस्तकमा के के छन् भन्ने सम्मका जवाफ दिएपछि लेखक भण्डारीले भने, ‘बजारमा आइसकेको पुस्तकका विषयमा म धेरै बोल्दिनँ । पाठक न्यायाधीश हुनुहुन्छ, ठीक बेठीक, राम्रो नराम्रो यो सबै छुट्याउँने जिम्मा अब पाठकहरुकै हो । तर, म यति चाहिँ भन्छु —सानो लगानीमा अत्यन्तै राम्रो आम्दानी गरिरहेका, डिभी पिआर छोडेर नेपाल फर्किएका अनि नेपालमै रहेर लोभ लाग्दो आम्दानी गरिरहेकाहरुका प्रेरणादायी कथा र विभिन्न सन्दर्भ समेटिएका कारण पनि पुस्तक पढिसकेपछि सबैले विश्वासका साथ भन्नुहुनेछ— हो, नेपालमै सकिन्छ ।’

यो सामाग्रि हामीले http://www.enayapatrika.com/2017/02/23/127640/  बाट साभार गरेका हौ ।

More Media