काठमाडौँ, २३ मंसिर । हाँस्य व्यङग्यका पिता मदनकृष्ण श्रेष्ठ मंगलबार बानेश्वरमा भएको रेडियो अडियोको दशौँ वार्षिकोत्सव कार्यक्रममा उपस्थित हुनुभयो । अहिले फस्टाएको हाँस्यव्यङग्य देखेर उहाँले  हाँस्यव्यङग्यको सुरुवात कसरी भएको थियो भन्ने बारे केही कुरा बाँड्नु भयो ।

आफ्ना सुरुवाति दिन सम्झँदै उहाँले भन्नुभयो ‘हाँस्यव्यङग्य अहिले निकै राम्रो भएको छ । तर यसको सुरुवात निकै दर्दनाक थियो । त्यो सुरुवात निकै गाह्रो थियो । हामीभन्दा पहिले राजपाल दाई धु्रब खाडा दाइहरुले कायृक्रम गर्नुहुन्थ्यो । त्यस समय उहाँहरुले सामाजिक व्यङग्य गर्नुहुन्थ्यो । किनभने उहाँहरु प्रहरीमा हुनुहुन्थ्यो । राजनीतिक व्यङग्य गर्न पाउनुहुन्थेन । उहाँहरुलाई त्यो अनुमति थिएन । हामी चाहिँ राजनीतिक व्यङग्य गर्न लाग्यौँ । जुन निकै गाह्रो थियो ।  हामीले एकैपटक राजनीतिक व्यङग्य गरेको भए थला पारिदिन्थे होला । तर हामीले सुरुमा एउटा अफिसको हाकिमलाई व्यङग्य गर्‍यौँ । त्यसलाई सबैले पचाएपछि विस्तारै सचिवको गर्न थाल्यौँ । त्यस समयसम्म पनि हामीले राजालाई व्यङग्य गर्न सकेका थिएनौँ । पछि विस्तारै राजदरबारको छेउ छाउबाट अलिअलि छोएर राजदरबारका सचिवहरुको विषयमा अलिअलि छोएर घुमाई घुमाई व्यङग्य हानेर पछि राजालाई पनि भन्न सक्ने भयौँ । पछि हामी व्यवस्थालाई नै भन्न सक्ने भयौँ । तर त्यस समयमा बोल्न सक्ने भएर पनि आम्दानी भने शून्य थियो । अहिलेको जस्तो एक कार्यक्रममा बोल्ने बित्तिकै पैसा आउने हैन त्यसबखत त । त्यसबखत त जहाँ कार्यक्रम गरेपनि एक पैसा आउँदैनथ्यो ।

पछि पछि त हामीले कति सित्तैमा गर्नु भनेर पैसाको कुरा गर्न थाल्यौँ  । तर पैसाको कुरा गर्‍यो की, ए पैसा खोज्ने तिनीहरु । तेत्रा भए तिनीहरु, त्यस्ता भए तिनीहरु भन्थे । पैसा मागेको ठाउँमा हामीलाई दोस्रो पटक त बोलाउँदै नबोलाउने । पैसाको त कुरै गर्न हुँदैन्थ्यो ।

तर पछि हामीले यसरी कार्यक्रम गर्दै आयौँ की कार्यक्रमका आयोजकहरु नै लाज मानेर हामीलाई पैसा दिन थाले । तपाईँहरु जहाँ जसले बोलाएपनि जानुहुन्छ, तपाईँहरुलाई गाह्रो छ भनेर नै आयोजकहरु आफैले पैसा दिन थाले ।

सुरुमा हामीले पाँच सय पारिश्रमिक पाएका थियौँ । त्यसमा पनि दुई जना भएपछि दुईसय पचास, दुई सय पचास बाँडेर लियौँ । हामी बडो दङग परेका थियौँ । त्यसपछि हजार आउन थाल्यो । जुन हामीले मागेकै हैन । हजार आएपछि त ओहो एक जनाको भागमा पाँचसय आउन थाल्यो भनेर झन दङग पर्न थाल्यौँ ।

पछि एउटा कार्यक्रममा हामीलाई आयोजकले पहिलो कति लिनु भएको थियो भनेर सोध्नुभयो । हामी भन्न अकमकायौँ अनि उहाँ आफैले पाँच हजार भन्नुभयो । हामी खुसी हुँदै अँ अँ त्यही भन्यौँ ।  हामीले त पाँच हजार पनि भन्न नसकेर अँ त्यही त्यही भन्यौँ । पाँच हजार आउन थालेपछि त निकै मजा आउन थाल्यो । हामी कलाका साथै आर्थिक रुपमा बलियो हुन थाल्यौँ । पछि हामीलाई जहाँ गएपनि पाँच हजार दिन थाले । पाँच हजार पाएपछि हामी त महंगो कलाकार पो हुन थाल्यौँ त । हामीलाई धेरैले महंगो कलाकार भनेर चिन्न थाले । जहाँ पनि कार्यक्रम गर्ने मान्छे हामीलाई अलि ठूला र आर्थिक रुपले बलियो आयोजकले मात्रै बोलाउन थाले । यसो गर्दा थोरै कार्यक्रमहरु गर्दा आम्दानी पनि धेरै अनि राम्रो विषयवस्तु पस्कन पाइयो, दौडधुप पनि कम भयो ।  यस्तै हुँदै जाँदा हाँस्य व्यङग्य अघि बढ्दै गयो । हामीले हाँस्य व्यङग्यलाई व्यावसायिक रुपमै स्थापना गर्न सक्यौँ जस्तो लाग्छ ।

नारायणगोपालको गीत सुन्दा मलाई यस्तो लाग्छ सायद संसारमा गायक भनेको नारायणगोपाल मात्रै रैछ  । त्यस्तो राम्रो लाग्छ मलाई  । त्यस समयमा उहाँले समेत हामीलाई सोध्नु भएको थियो, तिमीहरुले कार्यक्रम  गरेको पैसा लिन्छौ रे हैन, कति लिन्छौ ?  अनि हामीले पाँच हजार भन्यौँ । अनि उहाँले, ए अब म पनि लिन्छु भन्नु भयो । नारायण गोपाल दाइ भन्दा पनि अगाडि हामीले यो क्षेत्रलाई व्यावसायिक बनाउन थालेका हौँ । त्यस कारण निकै गर्व लाग्छ यो हाँस्य व्यङग्य क्षेत्र, जसले देशमा व्यवस्था परिवर्तन, लोकतन्त्र र गणतन्त्र ल्याउनमा पनि हाँस्यव्यङग्यले निकै ठूलो भूमिका निर्वाह गर्‍यो ।

तर अपसोच, अस्ति भर्खरै एउटा भोजमा एक जना जुंगा पालेको दाइले देश त धोस्त भो नि मदन जी भन्नु भयो । नउठ्ने गरी धोस्त भयो नी । यसमा तपाईँहरु पनि जिम्मेवार हुनुहन्छ, भन्नु भयो । अनि मैलै प्रजातन्त्र भनेको त राम्रो होनी भनेँ । अनि उहाँले हुन त हो भन्नुभयो । तर राजनीति गर्न नजान्नेले राजनीति गर्दा धेरै दुःख हुन्छ । जुन अहिले भइरहेको छ । राजनीति गर्न नजान्नेले पनि राजनीति सिक्ने व्यवस्था भनेको लोकतन्त्र हो । नजान्नेले सिक्दै जान्छ बिगार्नेले सच्याउँदै जान्छ । जान्नेले सल्लाह दिँदै अगाडि बढ्छ । त्यस कारण लोकतन्त्र आयो भनेर पछुतो मान्नु पर्ने कारण देख्दिन म ।

मदन र हरिले सुरुवात गरेको हाँस्यव्यङग्यले अहिले धेरैलाई जीवन दिएको छ । कला पस्केर सबैलाई मनोरञ्जन दिएर आफ्नो जीवनलाई सुन्द बनाउनेहरु थुप्रै छन् । हाँस्यव्यङग्यलाई सुरुवात र व्यवस्थित गरेका कारण नै मदन कृष्ण र हरिवंशलाई हाँस्यव्यङग्यका पिताम्मह भनिन्छ ।

यसैबीच रेडियो अडियोले कलाकारको सम्मानका लागि हरेक वर्ष आम्दानीको एक प्रतिशत सर्जकलाई सुम्पिने घोषणा गरेको छ । यस बारेमा रेडियो अडियोका कार्यकारी अध्यक्ष दीपेन्द्र खनियाले भन्नुभयो ‘हामीले प्रशारण संस्थाको नैतिक दायित्व सम्झेर यो औपचारिक सुरुवात मात्रै गरेका हौं । गर्न अझै बाँकी छ ।’

यो सामाग्रि हामीले http://www.todaykhabar.com/2016/12/08/65218/ बाट साभार गरेका हौ ।

More Media